काठमाडौंका करदतालाई छुटैछुटको ‘बाहार’, पुषभित्रै कर बुझाए ४० प्रतिशतसम्म छुट, के-केमा छ अफर ?

काठमाडौं महानगरपालिकाले करदातालाई कर छुटकाे सुविधा दिएकाे छ । महानगरपालिकाले उक्त सुविधा आर्थिक ऐन, २०८० अनुरूप उपलब्ध गराएको हो । यस्ताे सुविधा काठमाडाैं महानगरपालिकामा स्थायी बसोबास भएका व्यक्तिलाई नागरिकता, मतदाता परिचयपत्र वा बसाइँसराइ प्रमाण पत्रका आधारमा दिइनेछ । याे चालु आर्थिक वर्षका लागि  दिइएकाे सुविधा हाे ।

उपलब्ध गराइएका कर छुटका शीर्षकमा सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा अवधि तोकेर छुट सुविधा उपलब्ध गराइएको छ । छुट सुविधा वडा कार्यालयबाट लिन सकिने कामपा राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।

नियमित कर दाखिला गर्ने सम्पत्ति कर र व्यवसाय बहाल करदातालाई २०८० पुस मसान्तसम्म उल्लेखित शीर्षकमा १० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ । महानगर क्षेत्रभित्र सञ्चालित होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा लिजमा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेका करदातालाई बक्यौतासहितको सम्पत्ति करमा ३० प्रतिशतसम्म छुट दिइएको छ । यो सुविधा पुस मसान्तसम्मको लागि मात्र हो ।

व्यावसायिकरूपमा सवारीसाधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गर्ने करदातालाई भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने काफ्लेले बताए ।

एक वडा एक नमूना उद्यम कार्यक्रमअन्तर्गत सञ्चालित उद्योग वा व्यवसायको दर्ता भएको तीन वर्षसम्म निजले तिर्न बुझाउनुपर्ने व्यवसाय कर र शुल्कको १५ प्रतिशत छुट हुनेछ । चालु आवसम्म करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपाङ्गता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भई सञ्चालनमा रहेका पाँच लाख रुपैयाँसम्म पुँजीगत लगानी भएका उद्योग व्यवसाय, कम्पनी, संस्थाले २०८० पुसमसान्तभित्र कर दाखिला गरेमा जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर दाखिला गर्ने करदाताका हकमा कर रकमको २५ प्रतिशत छुट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *